
धनगढी । धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका बीरेन्द्र चन्द साथीहरुबाटै अपहरणमा परेको भन्ने सूचना गलत र बनावटी भएको खुलेको छ । बुधबार राति कञ्चनपुुरबाट फर्किने बेला सम्पर्कविहीन भएपछि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा फोन गरेर चन्द अपहरणमा परेको सूचना दिएका थिए ।
उक्त सूचनापछि गम्भीर बनेको प्रहरीले रातभर चन्दको खोजी जारी राख्यो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्द आफैँ सक्रिय बने । चन्दसँगै कञ्चनपुरबाट फर्किएका गोदावरीका बिनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई इलाका प्रहरी कार्यालय मालाखेतीले राति नै नियन्त्रणमा लिएको थियो ।
परिवारका सदस्यले बीरेन्द्रको अपहरण उनीहरुले गरेको आरोप लगाएका प्रहरीको भनाई छ । अपहरणको सूूचनाका कारण गम्भीर बनेको प्रहरीले सञ्चार सम्पर्क बाहिर रहेका चन्दको रातभर खोजी गरेपनि भेटाउन सकेन । त्यो रात हैरानी व्यहोरेको प्रहरीले अनुसन्धानका क्रममा अपहरणको सूचना गलत र बनावटी रहेको कुुरा बीरेन्द्र चन्दलाई भेटेपछि मात्र थाहा पाएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले अपहरणमा परेका भनिएका चन्दलाई बिहीबार दिउँसो गेटा मेडिकल नजिकै फेला पारेको बताए । उनी भेटिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा चारै जनाबीच छलफल गराएर प्रहरीले बिहीबार छाडेको छ ।
…अनी बन्यो अपहरणको कथा
अपहरणमा परेका भनिएका बीरेन्द्र चन्दसहित बिनोद शाह, भरत बोहरा र गोविन्द शाक्य चारै जना बुधबार कञ्चनपुर गएका थिए । दशैँ मनाउन भन्दै कञ्चनपुर पुगेका उनीहरु राति कैलाली फर्किरहेका थिए ।
प्राइभेट गाडीमा फर्किरहेका उनीहरु कञ्चनपुरको गुलरियामा खाजा खाने भन्दै रोकिएका थिए । उनीहरुबीच पैँसाको विषयमा समान्य विवाद भएको थियो । सोही क्रममा हातहपाई भएपछि चन्दको मोबाईल सडकमा खसेर फुुट्यो ।
अनि चन्द धनगढीतर्फ आइरहेको एम्बुलेन्ससँग लिफ्ट मागेर राति नै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका थिए । उनी पुगेको केहीबेरमा अन्य तीन जना पनि इप्रकामा पुगेका थिए । प्रहरीले सम्झाईबुुझाई गरेर चारै जनालाई घरतर्फ जान भनेको थियो ।
तीन जना गोदावरीका भएपनि चन्दले भने धनगढी आउनुुपर्ने थियो । धेरै राति भइसकेकाले सवारीसाधन समेत चलेका थिएनन् । एक जना अटो चालकलाई भेटाएपछि उनले काठमाडौँबाट आइरहेको बसमा राखेर धनगढी पठाएको प्रहरीले जनाएको छ ।
तर, चन्द धनगढी आएनन् । उनी राति गेटामा आफन्तको घरमा बसेको खुलेको छ । परिवारका सदस्यले भने चन्दको अपहरण भएको सूचना प्रहरीलाई गरेपछि तनाव खप्नुुपरेको थियो । चन्द परिवारको सदस्यको सम्पर्कमा रहेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्द उनी सम्म पुग्न सफल भएका थिए ।
प्रहरीकाअनुसार सुरुमा आफूसँग भएको पैँसा समेत चोरिएको दाबी गरेका चन्दले पछि भने फुटाइएको मोबाइल अन्य तीन जनाले किनिदिने शर्तमा बिहीबार इप्रका मालाखेतीमा मिलापत्र गरेका छन् । प्रहरीले चन्दको अपहरण गरेको कुरामा सत्यता नभएको पाइएको बताउँदै आपसी विवादका कारण उनी सम्र्पक विहीन भएको देखिएको र अहिले मिलापत्र भएर छुटिसकेको जानकारी दिएको छ ।

