
३१ असोज, धनगढी । कैलालीमा पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर युवक घाइते भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका–७ को गोलौरीका शंकरप्रसाद शर्माको घरबाट गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसन आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बाया खुट्टा भाचिएर घाइते अवस्थामै पक्राउ परेका उनको प्रहरी निगरानीमा राखेर टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

निजले शर्माको घरबाट चोरी गरेर लगेका सुनका ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र ६२ हजार ५३२ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
