
४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिता विपरीत सवारीसाधनमा प्रचार सामाग्री टाँसेको भन्दै हटाउन थालिएको छ ।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालका युवाहरुले सत्तारुढ गठबन्धनले आचारसंहिता मिचेर अटो रिक्सा लगायतका सवारी साधनमा टाँसिएका पोष्टर हटाउन थालेको हो । शुक्रबार मात्र करीब ४० वटा विद्युतीय अटो रिक्सामा लगाइएका प्रचार सामाग्री हटाइएको युवा संघ सुदूरपश्चिमका संयोजक विनय शाहले जानकारी दिए ।
‘कानूनको सबैले पालन गर्नुपर्छ । हामीले निर्वाचन आचारसंहिता विपरीत धनगढीमा अटो रिक्सालाई दैनिक दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँ दिएर प्रचार सामाग्री टाँसिएको पाइएपछि हटाइरहेका छौँ,’ शाहले प्रेसपत्रसँग भने, ‘कानूनको सबैका लागि सामान भएकाले यसको पालन गर्न हामी सबैको दायित्व हो ।’
उनकाअनुसार रिक्सा चालकहरुले सत्तारुढ गठबन्धनले दैनिक दुई सयदेखि पाँच सय रुपैयाँ दिएर प्रचार सामाग्री टाँस्न लगाएको पाइएको छ । निर्वाचन कार्यालय कैलालीले पनि आचारसंहिताअनुसार सवारीसाधनमा प्रचारप्रसार सामाग्री प्रयोग गर्न रोक लगाइएको जनाएको छ ।
कुनै उम्मेदवारले आचारसंहिता विपरीत त्यस्तो कार्य गरेको पाइएमा प्रचलीत कानूनअनुसार कारवाही गर्ने निर्वाचन कार्यालयको भनाई छ ।

