
धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित एक डेरीको दूधमा किरा भेटिएको भन्दै प्रहरीमा जानकारी गराइएको छ।
गेटास्थित कैलाली दुग्ध सहकारी संस्था लिमिटेडबाट दूध खरिद गरेर घर लगेकी स्थानीय ३१ वर्षीया पार्वती चौधरीले दूधमा सेतो रङको किरा भेटिएको बताएकी हुन्।
बुधबार बिहान करिब ८ बजे डेरीबाट दूध खरिद गरेर घर लगेकी चौधरीको घरपसलमा चिया खान गएका गोदावरी–५ का शिव भगवती गौमाता संरक्षणका अध्यक्ष ५७ वर्षीय अनुपदत्त भट्टले बिहान ९ः४० बजे प्रहरी चौकी गेटामा मौखिक जानकारी गराएका थिए।
जानकारी पाएलगत्तै प्रहरी चौकी गेटाबाट प्रहरी सहायक हवल्दार टिकेश्वरी महराको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार डेरीमा जाँच गर्दा बिक्री गर्न बाँकी दूध फेला परेन। डेरी सञ्चालक तेजबहादुर खड्काले बाँकी सबै दूध बिक्री भइसकेको बताएका छन्।
प्रहरीले डेरी सञ्चालक खड्कालाई आवश्यक सोधपुछका लागि प्रहरी चौकी गेटामा ल्याएको थियो। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बोलाएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटना भएको डेरी प्रहरी चौकी गेटाबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

