

धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले फरक–फरक घटनामा सक्रियता देखाउँदै एक फरार प्रतिवादीलाई पक्राउ गर्नुका साथै भन्सार छलिका सामानसमेत नियन्त्रणमा लिएको छ।
कैलालीमा फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालत कैलाली को आदेशअनुसार चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–१ बस्ने २४ वर्षीय जिबन कुमार पार्कीलाई पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय सुख्खड बाट खटिएको प्रहरी टोलीले सोमबार आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरमा भने भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी गस्ती टोलीले जिल्लाका विभिन्न स्थानबाट अन्दाजी एक लाख ७८ हजार २०० बराबरका किराना सामान, कपडा, पंखा, साइकलका टायरलगायत सामग्री बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले दुवै घटनामा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

