

धनगढी । कञ्चनपुरमा हातखुट्टा बाँधेर बालकमाथि कुटपिट गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा वेदकाेट नगरपालिका-५ का ३७ वर्षीय भाेज नाथ रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बताए ।
उनकाअनुसार नाथलाई वेदकाेट-५ कै ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरेकाे भिडियो सार्वजनिक भएपछि पक्राउ गरिएको हाे ।
उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएकाे डीएसपी शाहीले बताए । बालक चाैधर नदीकाे पूर्वतर्फ रहेकाे नाथकाे तरकारी बारीमा क्रिकेट बल खाेज्न गएका बेला खरभुजा चाेरी गरेकाे भन्दै उनीमाथि कुटपिट गरिएको थियोे ।
कुटिपटबाट घाइते बालककाे टाउकाेमा रहेकाे घाउमा तीन वटा टाका लागेकाे डीएसपी शाहीले बताए । बालकका दुवै हातखुट्टा बाँधेर नाथले थप यातना दिएकाे भिडियो समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।
बालकका आमाबुवा मजदुरीकाे सिलसिलामा भारतमा छन् भने उनी वेदकाेटमा बज्यैसँग बस्दै आएका थिए ।

