

रुपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको पूर्व आयुक्त मोहना अन्सारी नेपाली कांग्रेसको अनुसन्धान आयोगमा समेटिएकी छन् । यसअघि रास्वपाको समानुपातिक उम्मेदारको सूचिमा परेर विवादमा परेकी अन्सारीले अहिले भने यसलाई स्वीकार गरेकी छन् ।
बाँके स्थायी घर भएकी अन्सारी लामो समयदेखि अभियान्ताको रुपमा क्रियाशील छन् । राष्ट्रिय महिला आयोगमा समेत काम गरेकी उनी नागरिक समाज अगुवा, बृहत नागरिक आन्दोलनको नेतृत्वकर्ताको अग्रभागमा देखिन्छिन् । बारबरा फाउन्डेसनको सचिव समेत भएकी उनी अहिले कांग्रेसको अनुसन्धान आयोगको सूचीमा रहेकी छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी थिइन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा थिइन् ।
त्यो समयमा उनले आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको, न त कसैको कार्यकर्ता नै रहेको स्पष्ट पार्दै विगतमा विभिन्न दलका समर्थक र मुखौटाधारी व्यक्तिहरूबाट निरन्तर आलोचना र गाली व्यहोर्नुपरेको बताएकी थिइन् ।
संवैधानिक आयोगमा करिब एक दशक काम गरेकी उनी पत्रकार, सामाजिक परिचालक, लैङ्गिक समतामूलक प्रशिक्षक तथा कानुन व्यवसायीको भूमिकामा उत्पीडित र आवाजविहीन समुदायको पक्षमा उभिएको देखिन्छिन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले कांग्रेसको जिम्मेवारी स्वीकार गरेकी छन् । ‘पहिले मेरो चाहनामा थिएन, अहिलेको जिम्मेवारी मेरो सहमतिमै आएको हो’, उनले भनिन् ।

