


धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरेर भारतबाट ल्याइएका लाखौँ रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट र टिकापुर नगरपालिका–६ वाणीपुल क्षेत्रबाट अन्दाजी १ लाख ४३ हजार ३ सय रुपैयाँ बराबरका कुर्ती सेट, धोती, साडी, सुटपिस, पेठा, चप्पल लगायतका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको गस्ती टोलीले मंगलबार बरामद गरेको हो ।
यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बौद्धनगरबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको अन्दाजी ६० हजार रुपैयाँ बराबरको ‘आइस स्टिक्स’ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले बरामद गरेको छ ।
त्यसैगरी, दार्चुलाको महाकाली नगरपालिका–४ लास्कु खोलाबाट अन्दाजी ३१ हजार ७ सय ८५ रुपैयाँ बराबरका बिडी, सुर्ती, खाने तेल, काजु, बदाम, मिश्री लगायतका सामान सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

