
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया छन् ।
आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए ।
उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ ।
बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

