अब विवाद होइन, नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लागौं : मुख्यमन्त्री शाह

cp new add
Nisharg hospital
suchana
Nast new

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको बताएका छन् ।
कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै उनले अब विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताएका हुन् ।
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले प्रादेशिक अस्पताल बनाउने भन्दै गरेको निर्णयविरुद्ध अहिले आफैंले विरोध सुरु गरेपछि अस्पताल विवादमा तानिएको थियो। यही विवादका बीच उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको आवश्यकताका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए।
संयमित र सकारात्मक सन्देश दिँदै उनले अस्पताल सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताए। “जनताको आवश्यकताका लागि सबै पक्ष एकजुट हुनुपर्छ। अब विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ,” उनले भने।
नगर प्रमुख शाही विदेशमा रहेका बेला मुख्यमन्त्रीले अस्पताल उद्घाटन गरेको भन्दै आलोचना पनि भइरहेको थियो। बाक्लो सुरक्षा व्यवस्थाबारे मुख्यमन्त्री शाहले आफूले आजसम्म सुरक्षा निकाय प्रयोग नगरेको बताएका थिए। पछिल्ला गतिविधिका कारण सुरक्षा संयन्त्र आफैं सक्रिय भएको उनले बताए।
“आज पहिलो पटक मलाई मुख्यमन्त्री भएजस्तो महसुस भयो,” उनले भने, “तर यसलाई अन्यथा बुझ्न आवश्यक छैन। सबैभन्दा माथि आम नागरिक नै हुन्। मैले सुरक्षा निकायलाई यहाँ सक्रियता बढाउन भनेको छैन। उहाँहरूले आफ्नो जिम्मेवारी निभाइरहनु भएको छ।”
मुख्यमन्त्री शाहले अब अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु नै सबैको साझा दायित्व भएको बताए।
“हिजो के भयो भन्नेभन्दा अब अस्पताल कसरी राम्रोसँग चलाउने भन्ने विषय महत्वपूर्ण हो,” उनले भने, “प्रशासनिक निकायलाई बिना अवरोध काम गर्न दिऔं, यो समाधान हुने विषय हो।”
उनले अस्पतालको विषयमा आफूले कुनै व्यक्तिगत स्वार्थ नराखेको स्पष्ट पार्दै प्रदेश सरकार नागरिकको स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री शाहले प्रदेश र स्थानीय सरकारबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिममा संवादको संस्कृति विकास गर्न आफूले निरन्तर प्रयास गरिरहेको बताए।
उनले अझै पनि सबै पक्ष मिलेर अगाडि बढ्न सक्ने वातावरण रहेको उल्लेख गर्दै सकारात्मक भूमिका खेल्न स्थानीय जनप्रतिनिधि तथा नागरिकलाई आग्रह गरे।
मुख्यमन्त्री शाहले आधारभूत अस्पतालको संरचनाले ट्रमा सेन्टर सञ्चालन गर्न नसकिने भएकाले प्रादेशिक अस्पताल आवश्यक रहेको बताए। उनले अस्पतालका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको जानकारी दिँदै छिट्टै डायलासिस सेवा सञ्चालन गरिने घोषणा गरे।
कार्यक्रममा उनले अस्पताल उद्घाटनसँगै अब यहाँ कार्यरत कर्मचारीलाई सुरक्षित र सहज वातावरणमा काम गर्ने वातावरण बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए।
“यो अस्पताल जनताको हो। यसको सफल सञ्चालनका लागि सबैको साथ चाहिन्छ,” उनले भने।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...