


धनगढी। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको गृहकार्य अघि बढाएसँगै सत्तारुढ नेकपा एमालेभित्र पनि मन्त्री परिवर्तनको बहस सुरु भएको छ।
कांग्रेस संसदीय दलमा देखिएको विवाद समाधान गर्ने क्रममा मुख्यमन्त्री कमलबहादुर शाह र उनलाई हटाउन सक्रिय रहेका दिवानसिंह विष्ट पक्षबीच मन्त्रालय भागबण्डामा सहमति भइसकेको छ। दुवै पक्ष अहिले मन्त्रीका नाम टुंग्याउन आन्तरिक छलफलमा व्यस्त छन्।
कांग्रेसले सरकार पुनर्गठनको तयारी थालेपछि एमालेभित्र पनि आफ्ना मन्त्रीहरूलाई हेरफेर गर्नुपर्ने आवाज उठ्न थालेको छ। एमालेका नेताहरूले सरकार पुनर्गठन गर्दा पार्टीका तर्फबाट नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग नेतृत्वसमक्ष राखेका छन्।
एमालेका एक नेताका अनुसार कांग्रेससँगै सरकार पुनर्गठन गरी नयाँ व्यक्तिलाई मन्त्री बनाउने प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा हाल एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्। एक सांसदले भने, “कांग्रेसले मन्त्री फेरबदल गरिरहेको छ। त्यही क्रममा एमालेका मन्त्रीहरू पनि हेरफेर हुनुपर्छ भन्ने धारणा छ। यो विषय अध्यक्षसम्म पुगेको छ र केन्द्रमा पनि छलफल भइरहेको छ।”
यसअघि एमालेभित्र संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउनुपर्ने मागसमेत उठेको थियो। त्यसबेला अध्यक्ष ओलीले सांसदहरूलाई काठमाडौं बोलाएर विवाद समाधान गरेका थिए। स्रोतका अनुसार अहिले पनि मन्त्री हेरफेरसम्बन्धी प्रस्तावबारे ओलीले पार्टीभित्र आन्तरिक परामर्श गरिरहेका छन्।
हाल एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा हिरा सार्की सरकारमा छन्। निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा छिन्।
उनीहरू २०८१ साल साउनमा मन्त्री नियुक्त भएका थिए। करिब दुई वर्षदेखि सरकारमा रहेका उनीहरूलाई परिवर्तन गर्नुपर्ने आवाज भने विगतदेखि नै उठ्दै आएको छ।

