भारतबाट फर्किएका परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

cp new add
Nisharg hospital
suchana
Nast new

बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।

स्रोतका अनुसार खनाल जुन १४ ९जेठ ३१ गते० तारिखमा चीन प्रस्थान गर्नेछन् । १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ । त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् । उनी १७ तारिखमा फर्किने कार्यक्रम रहेको छ । मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अनलाइनखबरसँग कुरा गर्दै भारत भ्रमणको विषयमा केन्द्रित हुँदा चीन भ्रमणको तयारीबारे छलफल गर्न नपाएको बताए । ‘चिनियाँ साथीहरुसँग सम्पर्कमै छौँ । केही नयाँ आउनासाथ औपचारिक जानकारी दिने नै छौं,’ उनले भने ।

परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।

खासगरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले स्पष्ट रुपमा आफ्ना अडान दोहोर्‍याएका थिए । चीन भ्रमणको क्रममा पनि यो विषयले प्रवेश पाउनसक्ने बताइएको छ ।

साथै दुई देशबीचको सम्बन्धका विभिन्न आयाममा पनि छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...