
काठमाडौं । टीकाथलीस्थित डेरातर्फ मोटरसाइकलमा जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको भन्दै आएको समूहले स्कर्पियोमा राखेर लगेपछि उनी बेपत्ता भएका छन्।

शनिबार दिउँसो कोटेश्वरको नरेफाँटबाट टीकाथली जान याङ्गो बुक गरेका पुष्पेश भाटलाई चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएका व्यक्तिहरूले रोकेका थिए। आफूहरू प्रहरी भएको बताउँदै उनीहरूले भाटलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगेका थिए। मोटरसाइकल चालक जिलाप तामाङका अनुसार समूहले आफूलाई प्रहरी भन्दै परिचय दिएको थियो। उनीहरूले भाटलाई लगेपछि एक महिलाले यात्राको रकमसमेत तिरेकी थिइन्।
घटनापछि भाटका भाइ शुभमले टीकाथली प्रहरी चौकी, सातदोबाटो र बानेश्वर प्रहरी वृत्तमा पुगेर खोजी गरे पनि उनको अवस्थाबारे कुनै जानकारी पाउन सकेका छैनन्।भाटलाई प्रहरी भन्दै लैजाने समूह वास्तवमै प्रहरी भएरनभएकोसमेत खुलेको छैन। विभिन्न प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी आफ्नो नियन्त्रणमा नरहेको जानकारी दिइएको परिवारको भनाइ छ।
पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत भाट साउन १५ गते परीक्षा दिन कञ्चनपुरबाट काठमाडौं आएका थिए। बेपत्ता भएको २० घण्टा बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारले खोजीका लागि प्रहरीसँग आग्रह गरेको छ।

