


काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता ४ लाख २३ हजार २३७ जनाले अद्यावधिक गरेका छन् ।
पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये त्यति जनाले अद्यावधिक गरेको जानकारी दिए । पौडेलले १ लाख १ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको बताएका छन् ।
२ लाख ५७ हजार ६६३ जना सदस्यहरूले विवरण अद्यावधिकको प्रक्रिया नै सुरु नगरेको पनि पौडेलको भनाइ छ । पौडेल नेतृत्वको समितिले क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २८ गते राति १२ बजेसम्मको समय दिएको छ । त्यो समय सकिन २ दिन मात्र बाँकी रहँदा यति मात्रामा सदस्यता अद्यावधिक भएको हो ।
‘प्राविधिक वा अन्य विविध कारणले छुट्नुभएका सम्पूर्ण इच्छुक साथीहरूलाई तोकिएको समयभित्रै आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न हार्दिक अनुरोध गर्दछु,’ महामन्त्री पौडेलले भने, ‘आदरणीय अग्रज नेतृत्व, विभिन्न तहका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण अगुवा साथीहरूमा आ-आफ्नो सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो क्षेत्रभित्रका अन्य क्रियाशील सदस्यहरूलाई समेत यस प्रक्रियामा सक्रियतापूर्वक सहजीकरण गरिदिनुहुन विशेष अपिल गर्दछु।’
प्रविधिमा आधारित सङ्गठन र व्यवस्थित सूचना प्रणाली निर्माण गर्ने अभियानमा सबैको साथ रहने विश्वास आफूले लिएको महामन्त्री पौडेलले बताए ।

