चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम प्रयोग गर्दा पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ ।

काउन्सिलले चिकित्सकीय पेशाको मर्यादा, बिरामीको गोपनीयता तथा वैज्ञानिक तथ्यमा आधारित सूचना प्रवाह सुनिश्चित गर्न नयाँ व्यवस्था लागु गरेको हो ।

काउन्सिलले बुधबार सार्वजनिक गरेको ‘चिकित्सकको आचारसंहिता (सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग समेत)’ अनुसार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका बाहेक अन्य कुनै उपाधि प्रयोग गर्न वा गराउन पाउने छैनन् ।

सामाजिक सञ्जालमा पेशागत परिचय खुलाउँदा समेत दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आचारसंहिताले चिकित्सकहरूलाई सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा तथ्यपरक, सान्दर्भिक र वैज्ञानिक रूपमा पुष्टि भएका सामग्री मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ ।

उपचारसम्बन्धी जानकारी सार्वजनिक गर्दा वैज्ञानिक प्रमाणमा आधारित तथ्य उल्लेख गर्नुपर्ने र सम्भव भएसम्म सम्बन्धित सन्दर्भ सामग्रीसमेत समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

बिरामीको गोपनीयताको संरक्षणलाई विशेष प्राथमिकता दिँदै काउन्सिलले कुनै पनि बिरामीसँग सम्बन्धित सूचना सार्वजनिक गर्नुअघि बिरामी वा निजको हकवालाको मञ्जुरी लिन अनिवार्य गरेको छ ।

अनलाइन परामर्शका विषयमा पनि काउन्सिलले स्पष्ट मापदण्ड तोकेको छ । अनलाइन माध्यमबाट दिइने परामर्शको लिखित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने, रोगको निदान वा उपचारका लागि भौतिक परीक्षण आवश्यक देखिएमा बिरामीलाई प्रत्यक्ष परीक्षणपछि मात्रै उपचारसम्बन्धी सुझाव दिनुपर्ने तथा अनलाइन र भौतिक परामर्शको कानुनी दायित्व समान हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सामाजिक सञ्जाल वा विद्युतीय माध्यममा स्वास्थ्यसम्बन्धी बहस र छलफल गर्दा चिकित्सकहरूले आफ्नो धारणा व्यक्त गर्न सक्ने भए पनि अन्य व्यक्ति वा संस्थाको आलोचना गर्दा तथ्यमा आधारित हुनुपर्ने र अपमानजनक शब्द प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार उक्त आचारसंहिता नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा उल्लेखित चिकित्सकीय आचारसंहिताका प्रावधानहरूलाई थप स्पष्ट र व्यवस्थित बनाउने उद्देश्यले जारी गरिएको जनाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...