बाजुराको लाम्पाटामा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी कुट्नेलाई कारवाहीको माग, टायर बालेर सडक अवरुद्ध

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा जनप्रतिनिधि, कर्मचारी र स्थानीयमाथि भएको कुटपिट घटनाका आरोपितलाई पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। बुधबारदेखि गाउँपालिका केन्द्र धुलाचौरमा आन्दोलन चर्किँदा कर्णाली करिडोर अवरुद्ध भएको छ।

आन्दोलनकारीले प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङलगायतमाथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेपछि धुलाचौर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

सडक अवरुद्ध हुँदा स्थानीयसँगै कैलाश मानसरोवर जाने तीर्थयात्रीसमेत समस्यामा परेका छन्। काठमाडौँबाट १८ जनाको टोलीसहित मानसरोवरतर्फ गइरहेका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका शुक्र तामाङले आन्दोलनका कारण यात्रा प्रभावित भएको बताए। उनका अनुसार बिहीबार बिहान धुलाचौर पुगेको बस सडक अवरुद्ध भएपछि अगाडि बढ्न नसकेपछि टोली पैदलमार्ग हुँदै गन्तव्यतर्फ लागेको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको विवादपछि कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। घटनामा संलग्न व्यक्तिहरूको खोजी हुम्ला प्रहरीको सहयोगमा भइरहेको उनले जानकारी दिए।

गत जेठ ३ गते हुम्लाबाट आएको समूहले लाम्पाटा पुगेर वडा सदस्य पेमागारा गुरुङसहित केही स्थानीयमाथि कुटपिट गरी बन्धक बनाएको आरोप छ। सोही क्रममा पर्यटन प्रवर्द्धनका लागि साइपाल हिमालको बेसक्याम्प रानीसैनतर्फ गइरहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको टोलीमाथि समेत ढुंगामुढा भएको थियो।

यसअघि रानीसैन क्षेत्रमा स्थानीयले निर्माण गरेका भेडाका गोठमा आगजनीसमेत भएको थियो। स्थानीयवासीले आगजनी, कुटपिट र लुटपाटका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घटनाको विरोधमा बुधबार सदरमुकाम मार्तडीमा पनि प्रदर्शन गरिएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...