


धनगढी । चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–१८ सालघारीका २० वर्षीय विक्रम कामीलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतको २०८१ असोज २ गतेको फैसलाले कामीलाई २ वर्ष ११ महिना ८ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तथा २०८१ चैत १५ गतेको अर्को फैसलाले सोही मुद्दामा थप २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
फरार रहेका कामीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका कामीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

