डोटीको बडीकेदारका तत्कालीन अध्यक्ष–उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६१ लाख बढी बिगो माग

cp new add
Nisharg hospital

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित आठ जना र निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Nast Ad

आयोगका अनुसार ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा उठाउनुपर्ने राजस्व संकलन नगरी राज्यलाई हानीनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा तत्कालीन अध्यक्ष चन्द र उपाध्यक्ष बोहराविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा, सबइन्जिनियर दानबहादुर पछेरा तथा भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियारप्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध सोही रकम बराबरको बिगो र कैद सजायको माग गरिएको छ।

त्यसैगरी गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा पनि राजस्व नउठाई हानीनोक्सानी पुर्‍याएको अभियोगमा अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशीविरुद्ध अर्को मुद्दा दायर गरिएको छ।

यस मुद्दामा लेखापाल भट्ट, सबइन्जिनियर पछेरा, भागीरथी निर्माण सेवाका सञ्चालक जोशी र अख्तियारप्राप्त व्यक्ति बमविरुद्ध ४६ लाख ९५ हजार ६०० रुपैयाँ बिगो र कैद सजायको माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।

दुवै मुद्दामा गरी अख्तियारले ६१ लाख ५ हजार ८४० रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...