धनगढीमा रास्वपाका नेता सिंहसँग दोहोरो झडप भएको दाबी, चुनाव हारेपछि अपमान गर्ने गरेको आरोप

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा भएको झडप प्रकरणले नयाँ मोड लिएको छ। झडपमा घाइते भएका रास्वपा नेता तथा बझाङबाट प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार शैलेश सिंहले दुई जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहले बझाङको बुंगल नगरपालिका–८ का गोविन्द धामी र भरत बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका हुन्। घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी कानुनी कारबाही गर्न उनले प्रहरीसमक्ष माग गरेका छन्।

यता, आरोपितमध्येका भरत बोहराले भने घटनालाई एकतर्फी ढंगले प्रस्तुत गरिएको दाबी गर्दै आफूमाथि शक्ति र पहुँचको दुरुपयोग भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै बोहराले रिद्धि–सिद्धि पार्टी प्यालेसको झडप तत्काल उत्पन्न भएको घटना नभई फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि देखिएको विवादको परिणाम भएको बताएका छन्।

उनका अनुसार निर्वाचनका बेला आफू बझाङको बुंगल नगरपालिकामा चुनावी संयोजकका रूपमा खटिएका थिए। चुनावी अभियानका क्रममा आफ्नै रकमसमेत खर्च गरेको र ६–७ लाख रुपैयाँ खर्चको सम्पूर्ण हिसाब–किताब तथा प्रमाण आफूसँग सुरक्षित रहेको उनको दाबी छ।

बोहराले निर्वाचनपछि शैलेश सिंहले सार्वजनिक रूपमा आफूले चुनावी रकम दुरुपयोग गरेको आरोप लगाउँदै आएको आरोप लगाएका छन्। खर्चको विवरण देखाउन र आवश्यक परे आफ्नो जिम्मेवारीअन्तर्गत भएको रकम फिर्ता गर्नसमेत तयार रहेको जानकारी गराउँदा पनि आरोप जारी राखिएको उनको भनाइ छ।

उनले सिंहले बुंगल क्षेत्रमा ठूलो रकम खर्च भए पनि अपेक्षित मत नआएको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेको र त्यसक्रममा मतदातालाई समेत अपमानित हुने अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्। यस्ता गतिविधिले आफूमाथि निरन्तर मानसिक दबाब र चरित्रहत्या भएको उनको दाबी छ।

बोहराले आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पार्टीभित्र विभिन्न तहमा दबाब सिर्जना गरिएको आरोपसमेत लगाएका छन्। यही विषयमा अधिवेशनस्थलमा भएको छलफलका क्रममा विवाद चर्किएको र सिंहले पहिलो पटक हातपात गरेपछि झडप भएको उनको दाबी छ।

घटनामा दुवै पक्षका व्यक्ति घाइते भएको बताउँदै बोहराले आफू पनि उपचाररत रहेको जानकारी दिएका छन्।

प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उनले गम्भीर घाइते भएका गोविन्द धामीलाई हिरासतमा राखिएको तर सिंहलाई भने बाटोबाटै छाडिएको भन्दै यसलाई शक्ति र पहुँचको प्रभावको उदाहरणका रूपमा चित्रण गरेका छन्।

बोहराले आफूले कसैको पैसा, मोबाइल, घडी, गाडी वा अन्य कुनै सामान नलिएको दाबी गर्दै आत्मरक्षाका लागि मात्रै प्रतिकार गरेको बताएका छन्। आफूलाई घटनाको पीडित ठान्दै सत्यतथ्य स्थापित गर्न कानुनी लडाइँ लड्ने तयारीमा रहेको उनले उल्लेख गरेका छन्।

‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ। सत्य बाहिर ल्याउन कानुनी प्रक्रियामा जान्छु,’ बोहराले सार्वजनिक गरेको धारणामा उल्लेख छ।

घटनाबारे शैलेश सिंहले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् भने बोहराले आफूमाथि अन्याय र शक्ति दुरुपयोग भएको आरोप लगाएका छन्। घटनाको वास्तविकता भने प्रहरी अनुसन्धान र न्यायिक प्रक्रियाबाट मात्रै खुल्ने देखिएको छ।

बोहराको स्टाटस जस्ताको त्यस्तै

रिद्धि–सिद्धि पार्टी प्यालेस घटना : सत्ता र शक्तिको दुरुपयोग आदरणीय शुभचिन्तक तथा सम्पूर्ण महानुभावहरूमा नमस्कार। हिजोसम्म विभिन्न माध्यमबाट भएका मिडिया ट्रायल र फैलाइएका अफवाहपछि घटनाको वास्तविक पृष्ठभूमि सार्वजनिक गर्नु आवश्यक ठानेको छु। • घटनाको पृष्ठभूमि असार १ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा रास्वपा नेता शैलेश सिंह (गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार), उहाँका समर्थक र म तथा मलाई साथ दिने दाजुभाइहरूबीच विवाद भई झडप भएको हो। यो घटना तत्काल सिर्जना भएको नभई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि विकसित हुँदै आएको विवादको परिणाम थियो। • निर्वाचनमा मेरो भूमिका निर्वाचन परिचालन समितिले मलाई बझाङको बुंगल नगरपालिकाको चुनावी संयोजकको जिम्मेवारी दिएको थियो। मैले आफ्नो व्यवसायिक काम थाती राखेर तन, मन, समय र आफ्नै केही रकम खर्च गर्दै चुनावी अभियान सञ्चालन गरेको थिएँ। मेरो जिम्मेवारीअन्तर्गत भएको ६/७ लाख रुपैयाँ खर्चको पाई–पाई हिसाब र प्रमाण आज पनि सुरक्षित छ। • विवादको कारण निर्वाचनपछि शैलेश सिंहबाट सार्वजनिक स्थलमै ममाथि पैसा खाएको भन्ने आरोप लगाइँदै आएको थियो। त्यसपछि मैले उहाँलाई भेटेर सम्पूर्ण खर्चको हिसाब देखाउन र आफ्नो जिम्मेवारीअन्तर्गत भएको खर्चको जवाफ दिन उहाकै कलेज मा गएको थिए उल्टै मलाई मा चाची गाली गर्नु भो तेस्पछी , साथै चुनावमा मेरो हातबाट भएको खर्च चेकमार्फत फिर्ता गर्नसमेत तयार रहेको कुरा स्पष्ट पारेको थिएँ। तर उहाँले बुंगलमा ३० लाख रुपैयाँ खर्च भएको तर मत सोचेअनुसार नआएको, “यसभन्दा त मत सिधै किनेको भए बढी मत आउने थियो” भन्ने अभिव्यक्ति दिँदै मतदातालाई समेत अपमानित हुने किसिमका कुरा गर्दै आउनुभएको थियो। त्यसपछि पनि मेरो चरित्रहत्या र मानसिक दबाब जारी रह्यो। • अधिवेशनको घटना मलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पालिका सभापति, निर्वाचन संयोजक र जिल्ला प्रतिनिधिलाई दबाब सिर्जना गरी निज शैलेश सिंहले निरन्तर प्रयास गरेका थिए। सो कुरा जिल्ला तथा प्रदेशसम्मका नेताहरूलाई अवगत नै छ। यही विषय तथा विगतका विषयहरूमा कुराकानी हुँदा विवाद सिर्जना भएको थियो। यही पृष्ठभूमिमा अधिवेशनस्थलमा विवाद हुँदा शैलेश सिंहबाट ममाथि पहिलो पटक हातपात भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा दुवै पक्षका व्यक्तिहरू घाइते भएका छन्। मलाई पनि चोट लागेको छ र म उपचार गराइरहेको छु। • शक्तिको दुरुपयोग मसँग रहेका गोविन्द धामी (बुंगल नगरपालिका–२) गम्भीर घाइते हुँदाहुँदै पनि हिरासतमा छन्। उहाँको सिटी स्क्यान लगायत जाँच गरिएको भन्ने छ। बढी चोट लागेको व्यक्तिलाई नै हिरासतमा राखिनु र शैलेश सिंहलाई बाटोबाटै प्रहरीले छोडिनु शक्तिको दुरुपयोग भएको मेरो बुझाइ हो। • मेरो धारणा मैले कसैको पैसा, घडी, गाडी, मोबाइल वा कुनै पनि सामानमा हात लगाएको छैन। चुनावताका पनि मैले व्यक्तिगत रूपमा एक पैसा खाएको छैन। अरूको फोकटको पैसा खानु आमाको रगत खानुजस्तै हो भन्ने कुरामा म दृढ छु। मैले केवल आफ्नो आत्मरक्षा र प्रतिकार गरेको हुँ। म आफूलाई यस घटनाको पीडित ठान्छु। • न्यायप्रति विश्वास म केही दिनभित्र न्यायको माग गर्दै स्वयं न्यायालयको ढोका ढकढक्याउनेछु। सत्य र न्यायप्रति मेरो पूर्ण विश्वास छ। वैकल्पिक राजनीतिप्रतिको मेरो विश्वास पनि अटल रहेको छ। राजनीतिमा सामन्तीपारा र डनवादको अन्त्य हुनुपर्छ। यस घटनामा मिडिया ट्रायलबाट भ्रम सिर्जना भई साथीभाइ, शुभेच्छुक र पार्टीप्रति क्षति भएकोमा म दुःख प्रकट गर्दछु। धन्यवाद।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...