


रूपन्देही । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उठेका सुझावहरू पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधार बन्ने जनाएको छ।
कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सहभागी नेताहरूले राखेका सुझावलाई कार्यदलले तटस्थ र गम्भीर ढङ्गले सुनेको तथा ती सुझाव पार्टीका लागि अत्यन्त उपयोगी हुने बताए ।
उनले एमालेको विशेषता विचार र बहसलाई निरुत्साहित गर्नु नभई प्रोत्साहन गर्नु रहेको उल्लेख गर्दै पार्टीभित्रको बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राखे। बहसले पार्टीलाई सही निष्कर्षमा पुर्याउने र आन्तरिक एकतालाई थप मजबुत बनाउने उनको भनाइ थियो।
उपाध्यक्ष पौडेलले लुम्बिनीको कम्युनिष्ट आन्दोलनले पछिल्लो समय गम्भीर धक्का र पराजय बेहोरेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर, आत्मसमीक्षा गर्दै र पार्टीलाई पुनर्गठित गरेर नेपाली कम्युनिष्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले प्रदेशस्तरीय भेलामा सहभागी नेता–कार्यकर्ताले राखेका सुझावप्रति धन्यवाद व्यक्त गर्दै ती सुझावलाई कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताए ।

