


धनगढी । कैलालीमा प्रहरीले ७ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका–१ दुर्गानगर क्षेत्रमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी जवान धर्म साउदको कमाण्डमा खटिएको टोलीले बिहीबार साढे ४ बजेतिर लम्की–टीकापुर सडकखण्डमा शंकास्पद रूपमा गुडिरहेको सुपप्र ०१–००८ प १३४३ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–६ का बस्ने २५ वर्षीय गणेश लामिछाने र पछाडि सवार २५ वर्षकै गोविन्द घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार मोटरसाइकलको एयर फिल्टरमुनि लुकाइछिपाइ राखिएको अवस्थामा शुद्ध तौल ७ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।
बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ।

