धनगढीको साथी होटलको क्यासिनोमा बन्धक बनाएर २० लाख लुुटेको दाबी बनावटी, माफी मागे
भारतीय आधार कार्डसहित क्यासिनो छिर्थे रावत




धनगढी । धनगढीको साथी होटलको किङग्स लाउण्ड क्यासिनोले बन्धक बनाएर २० लाख लुटेको आरोप लगाएका बलबहादुर रावतले आवेगमा झुठ्ठा कुरा बोलिएको भन्दै प्रष्टीकरण दिएका छन् ।

क्यासिनोका कर्मचारीले तीन दिनसम्म बन्धक बनाएर आफूसँग भएको रकम लुुटिएको आरोप लगाएका रावतले प्रष्टीकरण दिदै आफूूबाट गल्ती भएको भन्दै क्षमायाचना समेत गरेका छन् । मामाको छोरा लुटिएको भन्दै प्रेसपत्रको सम्पर्कमा आएका आकाश भण्डारी भनिने व्यक्ति स्वयंम रावत नै भएको पनि खुलेको छ ।
क्यासिनोबाट बन्धक बनाइ ठगीमा परेको भन्ने उनको भनाई नाटकीय र बनावटी रहेको कुरा तथ्य प्रमाणले समेत देखाएको छ । साथी होटलको किङग्स लाउण्ड क्यासिनोको सीसीटीभी फुुटेजमा उनी विगत केही महिनादेखि क्यासिनोमा जाने गरेको पाइएको छ ।
भारतीय आधार कार्ड र राशन कार्डको आधारमा एक्लै क्यासिनोभित्र प्रवेश गरेर खेल्ने गरेको बताइएको छ । क्यासिनोका प्रतिनिधि श्याम कुँवरकाअनुसार विदेशी नागरिक भएको परिचयपत्र सहित गेटबाट भित्र प्रवेश अनुुमति दिइदै आएको छ ।
रावत पनि भारतीय आधार कार्ड र राशन कार्ड देखाएर क्याशिनो छिर्ने गरेका थिए । उनी नेपाली नागरिक भएको कुरा थाहा पाएपछि क्यासिनोले बाहिर निकालेको थियो । त्यसपछि समेत कुँवरसहितलाई भित्र प्रवेश गर्न दिन दबाब दिदै आएका थिए ।
उनीहरुले जान नदिएपछि तिमीहरुलाई देखाइदिन्छु भन्ने धम्की दिएर निस्किएका थिए । त्यसपछि नाटकीय रुपमा बनावटी कुरा लिएर सञ्चार माध्यमसम्म पुगेको खुलेको छ । क्यासिनोले निकालेपछि रावतले कुँवरको मोबाइलमा म्यासेज गर्दै एक घण्टामा लागि भएपनि खेल्न भित्र जान दिन आग्रह गरेको देखिन्छ ।
बारम्बार तनाव दिन थालेपछि क्यासिनोले जिल्ला प्रहरी कार्यालयलाई पनि यो बारेमा जानकारी दिएको कुँवरले बताए । ‘हामीले विदेशी परिचयपत्रका आधारमा मात्र भित्र प्रवेश दिन्र्छौँ । उहाँ पनि भारतीय परिचयपत्र बोकेर आउनुुहुन्थ्यो,’ कुँवरले भने, ‘जब नेपाली भाषामा कुरा गर्न थालेपछि स्क्रीनीङ गरेपछि मात्र उहाँ नेपाली भएको थाहा भयो । त्यसपछि उहाँलाई रोकेका थियौँ ।’
रावतले घरमा भने क्यासिनोमा काम गर्ने बताउने गरेका थिए । ‘समाचार सम्प्रेषण भएपछि प्रेसपत्रको सम्पर्कमा आएका उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै क्योसिनोलाई माफी पनि मागेका छन् । यो सबै कुरा मैले आवेगमा आएर भनेको हुँ । मबाट ठूलो गल्ती भयो । माफी चाहान्छु,’ रावतले भनेका छन्, ‘अबदेखि यस्तो गल्ती गर्दैनौँ ।’
