
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–७ मनेहरा नजिकबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ३०३ मिलिग्राम धुलो पदार्थसहित ६ जनालाई आइतबार साँझ पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना, अर्का २७ वर्षीय सुवास राना तथा एक १८ वर्षीय किशोर रहेका छन्। शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट चरेसजस्तो देखिने २ ग्राम ६३ मिलिग्राम कालो पदार्थसहित २० वर्षीय बेनी माधव खड्का र एक १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी धनगढी–१ महोत्सव ग्राउण्ड क्षेत्रबाट गाँजा ४ ग्राम ३४० मिलिग्राम र चरेसजस्तो देखिने ११० मिलिग्राम पदार्थसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २६ वर्षीय आयुष ओली, २६ वर्षीय अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापा रहेका छन्।
प्रहरीले सबै घटनामा बरामद लागूऔषधसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

