
धनगढी । कञ्चनपुरमा करीब साढे १ लाखको अवैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका सामानहरू बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त सामान फेला पारेको हो ।
भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित भुजेलामा बेवारिसे अवस्थामा फेला परेका ती सामानहरू अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका थिए ।
प्रहरीका अनुसार बरामद गरिएका हार्डवेयर, कपडा, चप्पल, तरकारी र किराना सामानहरूको कुल मूल्य अन्दाजी एक लाख ३२ हजार ४४२ रहेको छ ।
बेवारिसे अवस्थामा फेला पारिएका ती सम्पूर्ण सामानहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

