
धनगढी । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको ८ वर्ष पूरा हुन लाग्दा नेपाल प्रहरीले पुनः उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ।

२०७५ साउन १० गते भीमदत्त नगरपालिका–उल्टाखामकी निर्मला पन्तको हत्या भएको थियो। लामो समयसम्म पनि घटनामा संलग्न व्यक्ति पत्ता नलागेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धानलाई नयाँ ढंगले अघि बढाउन समिति गठन गरेको हो।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) कृष्ण पंगेनीको नेतृत्वमा समिति गठन गरेका छन्। समितिमा आईजीपी सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक इन्स्पेक्टरसहित अन्य प्रहरी अधिकृत सहभागी छन्।
यसअघि गठन भएका विभिन्न अनुसन्धान समितिहरूले घटनाको निष्कर्ष निकाल्न सकेका थिएनन्। प्रहरीले अहिलेसम्म १२३ भन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिसकेको भए पनि कुनै पनि नमुना मेल नखाँदा अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले अनुसन्धानलाई निरन्तरता दिन नयाँ समिति गठन गरिएको र टोली कञ्चनपुरमै खटिएर काम गरिरहेको जानकारी दिएका छन्।

