
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरीले त्यसबारे चासो देखाएको छ।

धनगढीस्थित सरकारी निवास परिसरभित्र शाहले बुलेट मोटरसाइकल चलाएको भिडियो मुख्यमन्त्री सचिवालयकै सदस्यहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले उक्त भिडियो टिकटकमा पोस्ट गरेका छन् भने सचिवालयका सदस्य पृथ्वीबहादुर शाहले फेसबुकमा पनि सार्वजनिक गरेका छन्।
फेसबुक पोस्टमा पृथ्वीबहादुर शाहले लेखेका छन्, “सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाहज्यू, स्वास्थ्य अवस्थाको सुधारसँगै सन्ध्याकालीन बाइक सवारी।”
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले घटनाबारे अध्ययन थालेको जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यका अनुसार भिडियो सार्वजनिक सडकमा नभई सरकारी निवास परिसरभित्र खिचिएको देखिएकाले यसमा सवारी तथा यातायात सम्बन्धी कानुनी कारबाही लागू हुने वा नहुने विषयमा कानुनी परामर्श भइरहेको छ।
उनले भने, “यो सार्वजनिक सडकको घटना होइन। त्यसैले कारबाहीको क्षेत्राधिकारबारे अध्ययन गरिरहेका छौं। तर मुख्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले हेलमेटबिनै मोटरसाइकल चलाएको भिडियो सार्वजनिक हुँदा आम नागरिकमा गलत सन्देश जान सक्छ।”
मुख्यमन्त्री शाह हाल सार्वजनिक कार्यक्रममा बैसाखीको सहारामा देखिने गरेका छन्। त्यसैबीच उनी बुलेट मोटरसाइकल चलाइरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रकारका प्रतिक्रिया आइरहेका छन्।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार हेलमेट नलगाई मोटरसाइकल चलाउने चालकलाई पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र त्यसपछि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। तर शाहले सार्वजनिक सडकमा नभई सरकारी निवास परिसरभित्र मोटरसाइकल चलाएकाले त्यसमा उक्त कानुन लागू हुने वा नहुने विषयमा प्रहरीले राय–परामर्श गरिरहेको जनाएको छ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार भिडियो मंगलबार साँझ खिचिएको हो। उनले बताएअनुसार मुख्यमन्त्रीलाई भेट्न आएका एक व्यक्तिको बुलेट मोटरसाइकल शाहले केही क्षणका लागि चलाएका थिए। विगतमा पनि शाहले यस्तै मोटरसाइकल चलाउने गरेको भन्दै भिडियोमा देखिएजति समय मात्रै मोटरसाइकल चलाइएको उनले दाबी गरे।

