
चौधरी ग्रुपको रियो ब्रान्डअन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ जुसमा लेदो भेटिएको भन्दै रुपन्देहीका दुई उपभोक्ताले गुनासो गरेका छन्। तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी प्रकृति गौतम र बिन्दु भट्टराईले योगिकुटीस्थित एक पसलबाट खरिद गरेको पाँच वटा जुसमध्ये दुईवटा अखाद्य अवस्थामा फेला परेको दाबी गरेका हुन्।

उपभोक्ता प्रकृति गौतमका अनुसार एउटा जुस पिउने क्रममा स्वाद असामान्य लागेपछि मुखमा लेदोजस्तो पदार्थ आएको महसुस भयो। त्यसपछि उनले जुस थुकिन् र प्याकेट खोलेर हेर्दा भित्र लेदो देखिएको बताइन्।
“मैले एउटा जुस खाँदा स्वाद फरक पाएँ। मुखमा लेदोजस्तो आएपछि थुकेँ। पछि खोलेर हेर्दा त्यसमा लेदो थियो,” गौतमले भनिन्।
उनका अनुसार उक्त जुस सेवन गरेपछि आफूलाई ज्वरो आउने र वान्ता हुनेजस्तो समस्या देखिएको थियो। उनले घटनाबारे वडाध्यक्षलाई जानकारी गराए पनि हालसम्म कुनै कारबाहीबारे जानकारी नपाएको भन्दै सम्बन्धित कम्पनीमाथि छानबिन र कारबाही हुनुपर्ने माग गरिन्।
गौतम र भट्टराईले घटनाबारे सामाजिक सञ्जालमा भिडियोसमेत सार्वजनिक गरेका छन्। भिडियोमा बिन्दु भट्टराईले अभिभावकलाई यस्ता प्याकेज्ड जुस बालबालिकालाई दिँदा सावधानी अपनाउन आग्रह गर्दै सम्बन्धित निकायले घटनाको छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताएकी छन्।
यता, चौधरी ग्रुपको रियो ब्रान्डका लुम्बिनी प्रदेश प्रबन्धक धनलाल न्यौपानेले कम्पनीको उत्पादन प्रक्रियामा लापरवाही हुने सम्भावना नरहेको दाबी गरेका छन्।
उनका अनुसार उत्पादन गरिएका पेय पदार्थ ७२ घण्टासम्म गुणस्तर परीक्षण गरेपछि मात्रै बजारमा पठाइन्छ। उनले अनुचित भण्डारण (स्टोरेज), ढुवानीका क्रममा प्याकेटमा स–साना प्वाल पर्नु वा अक्सिजन प्रवेश हुनुले पनि उत्पादनमा यस्तो समस्या आउन सक्ने बताए।
“फिल्डमा पुगेर सम्बन्धित उत्पादनको परीक्षण गरेपछि मात्रै वास्तविक कारण भन्न सकिन्छ,” न्यौपानेले भने।
घटनाबारे सम्बन्धित सरकारी निकायबाट औपचारिक परीक्षण वा अनुसन्धानको प्रतिवेदन भने सार्वजनिक भएको छैन। त्यसैले जुसमा लेदो देखिनुको वास्तविक कारण परीक्षणपछि मात्रै पुष्टि हुने देखिन्छ।

