
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुने प्रदेश कार्यसमितिले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले प्रतियोगिता एकल दोहोरी गायनमा आधारित हुने बताए। उनका अनुसार प्रतियोगितामा गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि आवश्यक बाद्यवादन र कोरस आयोजकले नै उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अध्यक्ष बिष्टका अनुसार प्रतियोगितामा सबै उमेर समूहका इच्छुक कलाकारले भाग लिन सक्नेछन्। सहभागी हुन चाहनेले एक हजार रुपैयाँ दर्ता शुल्क तिरी परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउनुपर्नेछ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रस्तुति दिए पनि विभिन्न कारणले स्थान हासिल गर्न नसक्ने प्रतिभालाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने तयारी छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष बिष्टले दोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक बन्न सहयोग पुर्याउँदै आएको उल्लेख गरे।
कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा सह–आयोजक रहेका छन्।

