
गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई देश र जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री गुरुङले केवल भाषण र नाराले मात्र जनताको समस्या समाधान नहुने भन्दै काम गरेर देखाउनुपर्नेमा जोड दिए।
‘घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र हुँदैन। मुखले बोलेको ५०औँ वर्ष भइसक्यो। अब हातले काम गरेर देखाउनुपर्छ,’ उनले भने।
उनले जनताको बीचमा पुगेर सेवा गर्नु नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसलाई स्टन्टबाजीको संज्ञा दिन नहुने बताए।
‘मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ,’ गृहमन्त्री गुरुङले भने।
उनले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन आफ्नो टोलीसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै सांसदहरूप्रति पनि प्रश्न उठाए।
‘हामी गृहमन्त्रीमा बसेर कसरी कामलाई प्रभावकारी बनाउने भनेर टोलीसँग छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना उपस्थित हुनुहुन्थ्यो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ,’ उनले भने।

