
जबर्जस्ती करणी मुद्दामा वारदात मितिदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले मुगुबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–९ जामिरगाउँ निवासी २२ वर्षीय राजबहादुर भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा खटिएको प्रहरी टोलीले उनलाई असार २५ गते मुगुको छायाँनाथ–रारा नगरपालिका–२ स्थित गमगढी बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको छ। उनीविरुद्धको जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

