
लोकेन्द्र ओझा, धनगढी । सुदूरपश्चिम प्रदेशमा सहकारी क्षेत्रका लागि २५ जना दक्ष प्रशिक्षक उत्पादन भएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढीले सञ्चालन गरेको १५ दिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers–TOT) तालिम सोमबार सम्पन्न भएको हो।

असार १५ गतेदेखि सञ्चालन भएको तालिममा प्रदेशका नौ जिल्लाका २५ सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापक सहभागी थिए। उनीहरूलाई सहकारी संस्थामा प्रशिक्षण दिन सक्ने दक्ष प्रशिक्षकका रूपमा तयार पारिएको कार्यालयले जनाएको छ।
समापन समारोहका प्रमुख अतिथि मन्त्रालयका सचिव शंकर शाहले सहकारीलाई समाज रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै सहकारीकर्मी इमान्दार, जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले आफूले प्रशिक्षकका रूपमा काम गर्दा संस्थागत सुधारका सकारात्मक अनुभव हासिल गरेको बताए।
विशिष्ट अतिथि स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले बदलिँदो समयसँगै सहकारी क्षेत्र पनि रूपान्तरण हुनुपर्ने धारणा राखे। सहकारीमा उद्यमशीलताको विकास आवश्यक रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना र अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए। पछिल्ला केही घटनाका कारण सहकारी क्षेत्रप्रति बनेको नकारात्मक धारणा सुधार्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
सहकारी रजिस्ट्रार जयन्ती गिरीले अनुभवी प्रशिक्षकमार्फत सञ्चालन गरिएको तालिम प्रभावकारी भएको बताउँदै सहभागीहरूले पाठयोजना निर्माण, अभ्यास शिक्षण र सक्रिय सहभागितामार्फत उल्लेखनीय क्षमता प्रदर्शन गरेको जानकारी दिइन्। उनले सिकेका ज्ञान र सीपलाई आफ्ना संस्थामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरिन्।
तालिममा सहकारीको अवधारणा, इतिहास, संविधान र सहकारीसम्बन्धी कानुन, व्यावसायिक योजना, वित्तीय व्यवस्थापन, ऋण प्रक्रिया, सुशासन, सहकारी शिक्षा, सञ्चालक समितिको भूमिका, साधारण सभा सञ्चालन, सहकारीका मूल्य–मान्यता तथा प्रभावकारी प्रशिक्षण विधिसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
डा. रूपा जोशी, डा. गोविन्दराज जोशी, डा. हेमराज पन्त, सचिव शंकर शाह, सहकारी रजिस्ट्रार जयन्ती गिरी, गणेशबहादुर चन्द, श्यामसिंह खड्का, मनमोहन बिष्ट, नरेन्द्र चन्द, विनोद पन्त, जागुराम चौधरी, राजेन्द्र चन्द, मोहनदेव जोशी, राजकुमार झा र रमेश चौधरीलगायतले तालिममा सहजीकरण गरेका थिए।
आयोजकका अनुसार यस तालिमबाट उत्पादन भएका २५ प्रशिक्षकले सुदूरपश्चिमका सहकारी संस्थामा क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन र प्रभावकारी सहकारी शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

