अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई पूर्वमहासचिवले भने- गलत अभ्यास बन्द गर्नुपर्छ

cp new add
Nisharg hospital

धनगढी । अत्तरिया उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कमल कडायतलाई संस्थाका पूर्व महासचिव शंकर खड्काले गलत अभ्यासका सबै ढोका बन्द गर्न सुझाव दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत कडायतले शुभकामना दिदै गलत विधि र अभ्यासलाई रोक्नेगरि काम गर्न सुझाव दिएका हुन् ।

Nast Ad

खड्काले लेखेको सन्देश जस्ताको त्यस्तै:

प्रिय भाइ कमल,
आजको यो जित तिम्रो व्यक्तिगत जित होइन। यो सम्पूर्ण उद्योगी–व्यवसायीहरूको जित हो। यो सत्य, इमानदारी र संघर्षको जित हो। यो अत्तरिया उद्योग वाणिज्य सङ्घको गरिमा जोगाउने अभियानको जित हो। वर्षौँदेखि सत्यलाई दबाउने, गलतलाई लुकाउने र संस्थालाई सीमित स्वार्थमा बाँध्ने प्रवृत्तिविरुद्ध व्यवसायीहरूले दिएको स्पष्ट जनादेश हो।
भाइ कमल, तिम्रो यो विजय एक दिनको उपलब्धि होइन। यो निस्वार्थ सेवा, त्याग, तपस्या, अथक मेहनत र अटल आत्मविश्वासको प्रतिफल हो। अन्यायका बीच बिताएका १९ दिन जेलको कठिन तपस्या पनि आजको यो सफलताको एउटा महत्वपूर्ण अध्याय बनेको छ। त्यो पीडा तिमीलाई कमजोर बनाउन होइन, अझ बलियो बनाउन आएको रहेछ। आजको परिणामले फेरि प्रमाणित गरेको छ—न्याय ढिलो हुन सक्छ, तर कहिल्यै मर्दैन।
आज व्यवसायीहरूको अनुहारमा देखिएको खुसी नै यो जितको सबैभन्दा ठूलो सम्मान हो। व्यक्तिगत रूपमा पनि म र बम बहादुर बोगटी यस सफलतामा अत्यन्त गर्व र खुसी महसुस गरिरहेका छौँ। किनकि हामीले कुनै व्यक्तिलाई मात्र होइन, इमानदारी, पारदर्शिता र स्वच्छ संस्थागत अभ्यासको अभियानलाई साथ दिएका थियौँ।
किचडमा फुलेको कमलको फूलको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन। आज तिमी त्यही कमल बनेका छौ। व्यवसायीहरूले तिमीलाई पदका लागि होइन, भ्रष्टाचारको अन्त गर्न, संस्थाको गरिमा जोगाउन र व्यवसायीहरूको हक हितको निर्भीक आवाज बन्न जिताएका हुन्। तिमीले हिजो पनि संस्थाबाट व्यक्तिगत सुविधा खोजेनौ, आज पनि त्यो संस्कारलाई निरन्तरता दिनेछौ भन्ने विश्वास छ।
मलाई अझै सम्झना छ १८ वर्ष पुरानो मोटरसाइकल चढेर व्यवसायीका घर घर पुग्दै गरेको तिम्रो संघर्ष। अर्कोतर्फ शक्ति, प्रभाव, तडकभडक र महँगा साधनका बीच पनि तिमीले इमानदारीको बाटो छाडेनौ। त्यसैले हामीले धेरैअघि नै भनेका थियौँ—अन्तिम जित सत्यकै हुनेछ।
चुनावका क्रममा अनेक रणनीति बने, अनेक दबाब सिर्जना भए, अनेक प्रभाव देखाइए। तर अन्ततः व्यवसायीहरूले आफ्नो विवेक प्रयोग गरे। यही कारण आज विशुद्ध व्यवसायीहरूको टोली विजयी भएको छ। यसमा मलाई गर्व छ।
अब तिम्रो काँधमा अझ ठूलो जिम्मेवारी आएको छ। गलत अभ्यासका सबै ढोकाहरू बन्द गर्दै विधि, पारदर्शिता, सुशासन र व्यवसायीको सम्मानलाई संस्थाको आधार बनाउनुपर्छ। व्यवसायीहरूको विश्वासभन्दा ठूलो कुनै शक्ति हुँदैन। त्यसैले उनीहरूको चाहना र हितविपरीत कुनै काम कहिल्यै नगर्नू यही मेरो आग्रह र शुभकामना हो।
अन्त्यमा, विजयी सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई, निर्वाचनमा सहभागी सबै उम्मेदवारप्रति सम्मान, र विश्वासका साथ मत प्रदान गर्ने सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई हार्दिक धन्यवाद।
यो जित व्यक्तिको होइन, विचारको हो।यो जित पदको होइन, विश्वासको हो।यो जित सत्य, संघर्ष र व्यवसायी एकताको हो।
व्यवसायी एकता जिन्दावाद!अत्तरिया उद्योग वाणिज्य सङ्घ जिन्दावाद!

शंकर खड्का पूर्व महासचिव – अत्तरिया उद्योग वाणिज्य संघ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...