बैतडीकी अनमी पन्त : जसले अध्यारो कोठाबाट उज्यालो जीवन दिइरहेकी छन्

cp new add
Nisharg hospital

कृष्ण विष्ट, बैतडी । रातको करिब ११ बजेको समय । डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीको प्रसूति कक्ष अन्धकारले ढाकिएको छ। एउटा टर्चको मधुरो उज्यालोमा अनमी शान्ती पन्त प्रसूति गराइरहेकी छन्। बाहिर गाउँ निदाइरहेको छ, तर त्यो सानो कोठाभित्र भने एउटा नयाँ जीवन संसारमा ल्याउने संघर्ष चलिरहेको छ। यही दृश्य विगत दुई वर्षदेखि उनको दैनिकी बनेको छ ।

Nast Ad

एउटी आमा प्रसव पीडाले छटपटाइरहेकी थिइन्। परिवारका सदस्य ढोकाबाहिर चिन्तित मुद्रामा उभिएका थिए। प्रसूति कक्षभित्र भने शान्ती पन्तको ध्यान एउटा मात्रै कुरामा केन्द्रित थियो—आमा र शिशु दुवैलाई सुरक्षित राख्ने ।

केही मिनेटपछि नवजात शिशुको पहिलो रुवाइ सुनियो। त्यो आवाजले कोठाभित्रको अन्धकारलाई क्षणभरका लागि जितेजस्तो लाग्यो।
तर यस्तो दृश्य कुनै एक रातको मात्र होइन। यही स्वास्थ्य चौकीमा कार्यरत अनमी पन्तले विगत दुई वर्षदेखि यस्तै कठिन परिस्थितिमा सुत्केरी सेवा दिँदै आएकी छन्।

स्वास्थ्य चौकीमा नियमित विद्युत छैन । यस अघि दैनिक पाँच घण्टा आउने गरेको ग्रामिण लघु जलविद्युत आयोजना दूई महिनादेखि पूर्णरुपमा ठप्प छ ।

“ग्रामिण लघु जलविद्युत आयोजना हुदापनि दैनिक ५ घण्टा मात्रै आउने गरेको हो, अहलिे पूर्णरुपमा बन्द रहेको छ” स्वास्थ्य अनमी पन्तले भनिन् ।

पन्तका अनुसार राति कुनै पनि बेला सुत्केरी आएपछि उपचार सुरु गर्नुअघि सबैभन्दा पहिले टर्चको अवस्था हेर्नुपर्छ। “अप्रान्हको समयमा नै बत्ती चार्ज गरेर तयारी अवस्थामा राख्नु पर्छ,” उनी भन्छिन्।

स्वास्थ्य चौकीमा एउटा मात्रै टर्च छ। त्यो पनि चार्ज गर्न नजिकै विद्युत नभएकाले करिब आधा घण्टा पैदल हिँडेर लैजानुपर्छ।

कतिपटक टर्चको ब्याट्री कमजोर भएकै अवस्थामा प्रसूति गराउनुपरेको अनुभव उनीसँग छ । “स्वास्थ्य संस्था भनेको चौबीसै घण्टा चल्ने ठाउँ हो, तर यहाँ रात पर्नासाथ अन्धकारसँगै काम गर्नुपर्छ,” उनी भन्छिन्।

यति कठिनाइका बाबजुद पनि शान्ती पन्त आफ्नो जिम्मेवारीबाट पछि हटेकी छैनन्। “हामीलाई डर लाग्छ। तर सुत्केरीलाई फर्काउन पनि मिल्दैन। जस्तो अवस्था भए पनि सेवा दिनैपर्छ,” उनी भन्छिन्।

उनले सहयोगको अपेक्षा भने छोडेकी छैनन्। “हामी धेरै सुविधा मागिरहेका छैनौँ। राति एउटा सुरक्षित उज्यालो मात्र चाहिएको हो।”
उक्त स्वास्थ्य चौकीमा बिगत २ वर्षको अवधिमा करिब ४० जनाको सुत्केरी भएका छन् । यी मध्ये करिब २० जना महिलाहरुलाई राती टर्चको भरमा सुत्केरी गराएको अनमी पन्त बताउछिन् ।

स्वास्थ्य चौकीमा एक मत्रै टर्च रहेको छ । सो टर्चपनि चार्ज नटिक्ने र मोवाइलको फ्ल्यास बालेर सेवा दिनु परेको पन्त सुनाउछिन् ।
“लामो समयसम्म बेथा लाग्ने महिलाहरुलाई अध्यारो कोठामै घण्टौसम्म राख्नु पर्छ, पूर्ण बेथा लागेको समयमा हामिले टर्च प्रयोग गर्छौ,” अनमी पन्तले भनिन् ।

प्रसूती गराउनको लागि प्रयोग गरिने पेरी लाइट स्वास्थ्य संस्थामा उपलब्ध भएको भएपनि विद्युत अभावमा प्रयोगमा नआएको स्वास्थ्य चौकीले जनाएको छ ।

ग्रामिण लघुजलविद्युतको लाईन मात्रै उपलब्ध भएपनि सो सेवापनि २ महिनादेखि बन्द रहेको स्वास्थ्य चौकी इन्चार्ज महेश बोहराले बतए । “राष्ट्रिय प्रशारण लाईन छैन, अरु वैकल्पिक व्यवस्था पनि भएन, लघुको लाईन बिग्रिएको छ,” स्वास्य चौकी इन्चार्ज बोहराले भने ।

विद्युत अभावमा डिलाशैनीका अन्य स्वास्थ्य संस्थाहरुमा पनि समस्या रहेको जानकारी पाएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । “यहाँ राष्ट्रिय प्रशारण लाईन पुगेको छैन, स्वास्थ्य संस्थाहरुमा आवश्यक सबै व्यवस्थापन गर्न सकिएको छ, तर विद्युतको नियमित आपूर्ती हुन सकेको छैन,” अध्यक्ष जोशीले भने ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...