
धनगढी । कैलालीमा ईभी हाईस दुर्घटना हुुँदा तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मंगलबार बिहान सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको ईभी हाईस दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
हाईस आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पल्टिएको छ । दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी २३ वर्षीय चालक मिलन भुजेलसहित दुई सहचालक घाइते भएका हुन्।
घाइतेमध्ये सिन्धुलीको दुधौली नगरपालिका–४ निवासी २६ वर्षीय प्रकाश दाहाल को मुख र छातीमा तथा कैलालीको गोदावरी नगरपालिका–२ निवासी २८ वर्षीय सागर उपाध्याय को ढाड र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि नोभा अस्पताल, धनगढी पठाइएको प्रहरीले जनाएको छ।
चालक भुजेलको ढाडमा सामान्य चोट लागेको छ। उनको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनामा हाईसको अगाडिको र पछाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनाका बेला गाडीमा चालकसहित तीन जना स्टाफ मात्र सवार रहेको प्रहरीले जनाएको छ।

