
नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी ) गोविन्दकुमार साहले आफू मिटरब्याज पीडित बनेको बताएका छन् । पूर्वएसएसपी साहले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै लिएको ऋण तिर्न तयार रहेपनि साहुले करोडौं रुपैयाँ मूल्यको जग्गा हडप्न खोजेको आरोप लगाएका हुन् ।

साहले आफूले २०७९ वैशाख २३ गते ९९ लाख रुपैयाँ ऋण लिएको र सो ऋणको साँवा र ब्याज तिर्न तयार रहेको बताए । तर, साहु पक्षले सुनियोजित रूपमा ठगी गरेको उनको दाबी छ ।
ऋण लिँदा नै १५ करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गा धितो राखिएको पत्रकार सम्मेलनमा पूर्वएसएसपी साहले बताए । त्यसबेला घरधनी महल खाली राखेर ५० र ५० लाख रुपैयाँका दुई थान कपाली कागज बनाउन लगाइएको उनले खुलाए । यस्तै, सानिमा विकास बैंकको हस्ताक्षर मात्र भएको तीन वटा खाली चेकसमेत साहुले लिएर राखेको उनको भनाइ छ । ऋण लिएको आठ महिनाभित्रै सोही जग्गा कृषि कम्पनीको नाममा प्रयोग गरी बैंकबाट चार करोड रुपैयाँ ऋणसमेत निकालिएको उनको दाबी छ ।
‘ऋण लिएको हुँ, तिर्छु । तर, अन्याय त गर्नु भएन नि,’ उनले भने, ‘९९ लाख ऋणका लागि १५ करोडभन्दा बढी मूल्यको जग्गा कसैले बेच्छ त ? आफूले ऋण बराबरको रकम बुझाउन पटक–पटक प्रयास गर्दा पनि साहुले आलटाल गर्दैआएको उनले बताए । ऋणको विषय स्थानीय बासिन्दा, व्यवसायी तथा जनप्रतिनिधिलाई समेत जानकारी रहेको उनको भनाइ छ ।
जनकपुरधाम–१६ का गोपाल साह, उनका भतिज हरेराम साह, भाउजू रेखाकुमारी साह तथा दाजु बलराम साहले संगठित रूपमा ठगी गरेको पूर्वएसएसपी साहको दाबी छ । अनुचित लेनदेन सम्बन्धी मुद्दामा एकसाता अघि गोपाल, हरेराम र रेखा साहलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

