
काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली समाजमा विवेकभन्दा भीडको मनोविज्ञान हाबी हुने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।

‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले गत फागुन २१ को संसदीय निर्वाचनपछि चितवनदेखि नवलपरासीसम्म मतदातासँग गरिएको संवादमा धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेको बताए पनि उम्मेदवारका रूपमा बालेन्द्र शाह (बालेन) रहेको ठानेको अनुभव सुनाए। उम्मेदवारबारे जानकारी नलिई मतदान गर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडोपन’सँग तुलना गरे।
संग्रौलाले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको लहर र दोस्रो निर्वाचनमा त्यो एकाएक हराएको उदाहरण दिँदै नेपाली समाजमा तार्किक निर्णयको अभाव रहेको बताए। उनका अनुसार प्रभावशाली वक्तृत्व, आकर्षक एजेण्डा र जनतालाई प्रभावित गर्ने क्षमता भएका नेताले भीडलाई आफ्नो पक्षमा आकर्षित गर्न सक्छन्।
उनले मदन भण्डारीलाई करिश्माई नेताका रूपमा स्मरण गर्दै रवि लामिछानेले पनि यथार्थ र भ्रमको मिश्रणमार्फत ठूलो जनसमर्थन जुटाएको बताए। तर नागरिकता तथा राहदानीसम्बन्धी कानुनी विवादका कारण उनी कार्यकारी नेतृत्वमा पुग्न नसकेको र त्यसपछि बालेन्द्र शाह वैकल्पिक पात्रका रूपमा अगाडि आएको उनको भनाइ थियो।
संग्रौलाले नेपाली समाजले विवेकपूर्ण र तार्किक निर्णय लिन नसकेसम्म देशको राजनीतिक संस्कृतिमा अपेक्षित परिवर्तन आउन कठिन हुने धारणा व्यक्त गरे।

