
काठमाडौँ । अनसनरत ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबारदेखि नर्सिङ परिषद्को कार्यालयमा अनसन बस्दै आएकी रानाभाटलाई थप उपचारका लागि वीर अस्पताल लगिएको हो ।

नर्सिङ अभियन्ता कल्पना रिजालले रानाभाटको रक्तचाप घटेको जानकारी दिइन् । रिजालले भनिन्, ‘उहाँको शरीर कमजोर भएपछि स्लायन पानी चढाइएको थियो । रिँगटा लाग्ने समस्या देखिएको छ ।’ हिजो बेलुकी अनसनरत रानाभाट र र सरकारी टोलीबिच वार्ता भएको छ । सरकारी वार्ता समिति नै स्वार्थ प्रेरित रहेको भन्दै छलफल निष्कर्षविहीन बनेको थियो ।
वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका नर्सिङ प्रशासक अमृता पहाडी, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख रोशनी लक्ष्मी तुइतुई र नुजन शर्मा रहेका थिए । यस्तै, रानाभाटको तर्फ लक्ष्मी तामाङ, कविता सिटौला र कल्पना रिजाल, जिता बराल सहभागी थिए । रानाभाटले सहमति कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताइन् । मन्त्रालयले आफूलाई अनसन भाँड्ने उद्देश्यले ढिलो गरी वार्ताका लागि बोलाएको बताइन् ।
आज पनि नर्सिङ तथा मिडवाईफ्री पेसा न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, विभेदकारी कानुनी व्यवस्था, अपर्याप्त दरबन्दी, स्पष्ट मानव संसाधन नीतिको अभाव, सीमित नेतृत्व अवसर तथा व्यावसायिक सम्मानको कमी जस्ता समस्याबाट ग्रसित रहेको उनको माग छ । दक्ष नर्सिङ तथा मिडवाईफ्री जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको छ ।
सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत सम्पूर्ण नर्सिङ तथा मिडवाईफ्री जनशक्तिलाई तहगत योग्यता, दक्षता तथा जिम्मेवारीअनुसार नेपाल सरकारको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक, सेवा–सुविधा, भत्ता तथा सम्मानजनक सेवा सर्त कानुनी रूपमा सुनिश्चित गर्नुपर्ने माग अघि सारेकी छिन् ।

