
काठमाडौं । नव गठित जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

काठमाडौमा बिहीबार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्रे बटुल्ने काम गरेको आरोप लगाएका हुन् । उनले राप्रपाबाट पार नलागेपछि राजसंस्था र हिन्दुराज्यको लागि आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए ।
उनले राप्रपाले ३७ वर्ष राजाको नाममा जनमत संकलन गरे पनि जनताले अवसर दिँदा आफ्ना मूल एजेन्डालाई कार्यान्वयन गर्न नसकेको दाबी गरे । पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थका कारण एजेन्डालाई तिलाञ्जली दिएको उनको आरोप छ । अध्यक्ष राणाले राप्रपाको गतिविधिप्रति असन्तुष्टि जनाएर नै विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको बताए ।
राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डाप्रति जनताको वितृष्णा नभएपनि राप्रपाको गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा प्रकट भएको उनको दाबी छ । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्यो । जब जब जनताले ठाउँमा पुर्याए, आफ्नो एजेन्डालाई अगाडि सारेन । नेताहरूको व्यक्तिगत स्वार्थमा एजेन्डाको तिलाञ्जली दिए ।’
उनले अगाडि भने, ‘हामीले के बुझेका छौँ भने नेपाली जनताले हिन्दु अधिराज्य अथवा राजा सहितको प्रजातन्त्रलाई नकारेको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलापलाई नकारेको कारणले भोट नआएको हो ।’ उनले निर्वाचन परिणामपछि राजा र हिन्दु राष्ट्रको एजेन्डा समाप्त भयो भन्ने भाष्य निर्माण हुन थालेकाले त्यसलाई जोगाउन जय नेपाल पार्टी स्थापना गरिएको बताए ।
नेपाली जनताले हिन्दु अधिराज्य वा राजासहितको प्रजातन्त्रको अवधारणालाई अस्वीकार नगरेको उनको दाबी छ ।

