
६ साउन, धनगढी । कैलालीमा खाद्य स्वच्छता कायम नगरेको भन्दै २७ वटा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना ऐनअनुसार संकलन गरिएका नमूना प्रतिकुल पाइएपछि धनगढीसहितका विभिन्न स्थानमा सञ्चालनमा रहेका २७ उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको जनाएको छ ।

यसरी खाद्य स्वच्छता कायम नगरेर सामाग्री उत्पादन गरेर बजारमा पठाउनेमा मःम, चाउमिन, बिस्कुट, विभिन्न सस, भेनेगर र खस्ता लगायतका खाद्य पदार्थ उत्पादन गर्ने उद्योग रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिका क्षेत्रका ७, गोदावरी नगरपालिकाका ७, लम्कीचुहा नगरपालिकाका ५, टीकापुर नगरपालिकाका ३, कैलारी गाउँपालिका क्षेत्रका ३, घोडाघोडी र गौरीगंगा नगरपालिकाका १-१ उद्योग रहेका छन् ।

ती उद्योगहरुको लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर देखिएका कारणले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले शुक्रबार गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रगती विवरण समेत सार्वजनिक गरेको छ ।

कार्यालयले गत वर्ष बजार अनुगमनका क्रममा होटल, रेस्टुरेन्ट, खाद्य तथा दाना उद्योगहरु समेत गरेर ४० वटा उद्योगबाट अखाद्य वस्तु बरामद गरेर नष्ट गरेको, प्रशोधित पिउने पानी उद्योगी र दुग्ध प्रशोधन उद्योगीहरुसँग चार पटक अन्तरक्रिया गरेको जनाएको छ ।
प्रयोगशालामा प्राप्त हुने नमूनाहरु विश्लेषण दस्तुर बापत २७ लाख ९० हजार राजश्व समेत संकलन गरिएको छ ।
