


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् ।


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।





पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ ।


प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।
चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो ।






