
चितवन । मानव बस्ती आसपास बाघ र चितुवाको गतिविधि बढ्न थालेपछि डिभिजन वन कार्यालय चितवनले क्यामरा जडान गरी अनुगमन सुरु गरेको छ। आवश्यक परे नियन्त्रण र उद्धार गर्न विभिन्न स्थानमा खोरसमेत राखिएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा बाघ–चितुवा ‘ट्रयापिङ’का लागि क्यामरासहित खोर राखिएको छ। त्यही क्षेत्रको बाँसझ्याङमा अर्को क्यामरा पनि जडान गरिएको छ।
अनुगमनकै क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चालाई उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको उनले बताए। क्यामरामा भने माउ चितुवा र अर्को बच्चा खोरबाहिर बसेको देखिएको थियो। त्यस क्षेत्रको झाडी फाँडेपछि माउ र बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरतर्फ गएको अनुमान गरिएको छ। अहिले उक्त क्षेत्रमा पनि खोर र क्यामरा राखेर नियमित निगरानी भइरहेको छ।
यस्तै, भरतपुर–११ स्थित आँपटारीको विद्युत् स्टेशन क्षेत्रमा बाघ देखिएको सूचना आएपछि त्यहाँ पनि क्यामरा जडान गरिएको छ। स्थानीयको बाख्रा बाघले मारेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयको टोलीले स्थलगत अनुगमन गरेको थियो।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार हाल तीनवटै स्थानमा क्यामरा र खोरको व्यवस्था गरिएको छ। बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले बताए।
वन विज्ञहरूका अनुसार शारीरिक रूपमा कमजोर बाघ वा चितुवा तथा बच्चा हुर्काइरहेका माउहरू जंगलभित्रको जोखिमका कारण केही समय मानव बस्ती नजिक पुग्ने गर्छन्। जंगलमा सिकार गर्न कठिन हुँदा उनीहरूले घरपालुवा जनावरलाई सिकार बनाउने घटना पनि बढ्ने गरेको छ।

