
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाए आफ्नो दलको विरोध अन्त्य हुने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो त्रुटि स्वीकार गरी अभिव्यक्ति सच्याए संसद्मा जारी विरोधसमेत अन्त्य हुने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको छैन भनेर आफ्नो त्रुटि सच्याउनुभयो भने हाम्रो विरोध अन्त्य हुन्छ । नेताको सबैभन्दा ठूलो शक्ति गल्ती स्वीकार गरेर त्यसलाई सच्याउनु हो ।’ सांसद ओलीले आन्दोलनरत इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरिन् । समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेका एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकमध्ये एक जना वीर अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उनले सरकार र स्वास्थ्य मन्त्रालयले तत्काल समस्या समाधान गर्नुपर्ने बताइन् ।
उनले माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत मिटरब्याज पीडित, दुर्घटनापीडित तथा अन्य नागरिकका समस्या पनि सरकारले बेवास्ता गर्न नहुने धारणा राखिन् । ग्यास अभाव र मूल्यवृद्धिको दीर्घकालीन समाधानका लागि विद्युतीय चुलोलाई प्रोत्साहन गर्नुपर्ने भन्दै उनले विद्युतीय चुलोमा लाग्ने भन्सार तथा विद्युत् महसुलमा लाग्ने भ्याट र अन्य कर अधिकतम हटाउन सरकारसँग माग गरिन् ।
त्यस्तै, राइड सेयरिङ सेवामा लगाइएको ७ प्रतिशत कर पुनरावलोकन गर्न आग्रह गर्दै उनले देशमै बसेर श्रम गर्ने युवामाथि थप करको भार थोपर्नु उचित नहुने बताइन् । सांसद ओलीले १६ वटा राजदूत पदका लागि परेको करिब २ हजार ७ सय आवेदनको मूल्याङ्कन प्रक्रिया पारदर्शी बनाउन पनि सरकारसँग आग्रह गर्दै सर्टलिस्ट र छनोटको आधार सार्वजनिक गर्नुपर्ने बताइन् ।

