
बैतडीका १० स्थानीय तहअन्तर्गत रहेका ८४ वडा कार्यालयमध्ये २२ वडामा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी ६२ वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्यतर्फका कर्मचारी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ।

जिल्लाका सुर्नया र सिगास गाउँपालिकाका सबै वडामा वडा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। ती पालिकाका वडामा प्राविधिक, स्वास्थ्यतर्फका तथा करारका कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको छ।
स्थानीय तहका अनुसार पाटन नगरपालिकाका ७, पुर्चौडी नगरपालिकाका ९, मेलौली नगरपालिकाका ७, दशरथचन्द नगरपालिकाका ४, दोगडाकेदार गाउँपालिकाका ४, पञ्चेश्वर गाउँपालिकाका ४, सुर्नया गाउँपालिकाका ८, डिलाशैनी गाउँपालिकाका ५, सिगास गाउँपालिकाका ९ र शिवनाथ गाउँपालिकाका ५ वडामा वडा सचिवको दरबन्दी परिपूर्ति भएको छैन।
सचिवको दरबन्दी परिपूर्ति नभएका वडामा प्राविधिक, स्वास्थ्यकर्मी, करार कर्मचारी र कम्प्युटर अपरेटरलाई दोहोरो जिम्मेवारी दिएर वडा कार्यालयको काम सञ्चालन भइरहेको छ।
पाटनमा ७ वडाको जिम्मेवारी प्राविधिकलाई
१० वडा रहेको पाटन नगरपालिकामा तीन वडामा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। वडा नं। २, ६ र १० मा सचिवको दरबन्दी परिपूर्ति भएको छ भने बाँकी सात वडामा प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टले जानकारी दिए।
दशरथचन्दमा चार वडा सचिवविहीन
११ वडा रहेको दशरथचन्द नगरपालिकाका चार वडामा वडा सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा नं। १, २, ३ र ५ मा प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको छ। बाँकी सात वडामा भने सचिवको दरबन्दी परिपूर्ति भएको सूचना अधिकारी राज बिष्टले जानकारी दिए।
पुर्चौडीका ९ वडामा प्राविधिकलाई जिम्मेवारी
१० वडा रहेको पुर्चौडी नगरपालिकामा वडा नं। १० बाहेकका नौवटै वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको छ। वडा नं। २ को कार्यालयमा भने सचिवको जिम्मेवारी कसैलाई नदिइएको र कार्यालय पूर्णतः सचिवविहीन रहेको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले जानकारी दिए।
मेलौलीमा कम्प्युटर अपरेटरलाई समेत जिम्मेवारी
९ वडा रहेको मेलौली नगरपालिकामा वडा नं। ३ र ८ मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी वडामा कम्प्युटर अपरेटरलगायत प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी सपना कार्कीले जानकारी दिइन्।
दोगडाकेदारमा चार वडा सचिवविहीन
८ वडा रहेको दोगडाकेदार गाउँपालिकामा वडा नं। ३, ४, ५ र ८ मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी चार वडामा प्राविधिक समूहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए।
पञ्चेश्वरका चार वडामा प्राविधिकको दोहोरो जिम्मेवारी
६ वडा रहेको पञ्चेश्वर गाउँपालिकामा वडा नं। ३ र ६ मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी चार वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर वडा सचिवको भूमिका निर्वाह गराइएको गाउँपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख रोशन चन्दले जानकारी दिए।
सुर्नयामा सबै वडाको जिम्मेवारी प्राविधिकलाई
८ वडा रहेको सुर्नया गाउँपालिकाका कुनै पनि वडामा वडा सचिवको दरबन्दी परिपूर्ति भएको छैन। सबै वडामा प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराले बताए।
उनका अनुसार वडा नं। ३ र ४ मा प्राविधिक समूहका कर्मचारी दानसिंह बिष्टलाई दुवै वडाको सचिवको जिम्मेवारी दिइएको छ।
डिलाशैनीमा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या
७ वडा रहेको डिलाशैनी गाउँपालिकामा वडा नं। २ र ६ मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी पाँच वडामा प्राविधिक तथा स्वास्थ्य समूहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले जानकारी दिए।
स्वास्थ्य तथा प्राविधिक समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर वडाको काम सञ्चालन गर्नुपरेको अध्यक्ष जोशीले बताए।
“कर्मचारी परिपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, समयमै सेवाग्राहीलाई सेवा दिन सकिएन,” अध्यक्ष जोशीले भने।
शिवनाथका पाँच वडामा सचिव छैनन्
६ वडा रहेको शिवनाथ गाउँपालिकामा वडा नं। १ मा मात्रै सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी पाँच वडामा प्राविधिक तथा करारका कर्मचारीलाई जिम्मेवारी दिइएको गाउँपालिकाका सूचना अधिकारी महेश सिंह महताले जानकारी दिए।
सिगासमा स्थायी कर्मचारीको अभाव
९ वडा रहेको सिगास गाउँपालिकाका सबै वडामा प्राविधिक तथा करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले जानकारी दिए।
प्रशासनतर्फका स्थायी कर्मचारीको अभाव रहेको अधिकृत बोहराले बताए। भौगोलिक रूपमा विकट पालिका भएकाले कर्मचारी आउन नमान्ने र आए पनि छोटो समयमै सरुवा मागेर जाने गरेको उनको भनाइ छ।
“भौगोलिक रूपमा दुर्गम भएर पनि यहाँ कर्मचारी आउन मान्दैनन्, आएपछि छिट्टै सरुवा मागेर गइहाल्छन्, करारका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने बाध्यता छ,” बोहराले भने।

