
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

दिउँसो हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भू–भाग र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ।
मधेश, कर्णालीको पहाडी तथा बागमतीको पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका साथै बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

