
डडेल्धुरा । अमरगढी नगरपालिका–५ तुफानडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। कृतिपुरबाट बागबजारतर्फ आउँदै गरेको से ४ प ३०३३ र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६८२८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा से ६ प ६८२८ का चालक अमरगढी–९ का २३ वर्षीय जगदीश भट्टको दुवै खुट्टा, चिउँडो र छातीमा चोट लागेको छ। से ४ प ३०३३ का चालक अमरगढी–७ पोखराका ४० वर्षीय गणेश साकीको बायाँ कान, दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ।
सोही मोटरसाइकलमा सवार अमरगढी–५ का ४७ वर्षीय दीपक भट्टको मुख, दाहिने खुट्टा, कम्मर र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार गरिएकोमा गणेश साकीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।
दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

