
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी ‘मानसिंह’को निधन भएको छ । पार्टीका अनुसार केसीको साउन २४ गते साँझ ८ बजे प्युठान नगरपालिका–१० स्थित आफ्नै निवास मरन्ठानामा निधन भएको हो ।

पार्टीले केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विसं. १९९८ साउन १८ गते प्युठानमा जन्मिएका केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२४ देखि २०३६ सालसम्म भूमिगत रहेर पार्टी सङ्गठन निर्माणमा सक्रिय थिए ।
अस्थायी शिक्षकका रूपमा लामो समय शिक्षण पेसामा समेत रहेका केसी पार्टीको जिल्ला समिति सदस्य, जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए । महान् जनयुद्धका क्रममा २०५३ देखि २०६३ सालसम्म उनी परिवारसहित भूमिगत भएर पार्टीका विभिन्न जिम्मेवारीमा सक्रिय रहेको पार्टीले जनाएको छ ।
केसी २०६४ सालमा प्युठान क्षेत्र नं.१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जीवनको अन्तिम समयसम्म मार्क्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध रही नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा सक्रिय रहेको पार्टीले जनाएको छ ।


