
काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार राति गएको ७.४ म्याग्निच्युडको भूकम्पको करिब ४८ घण्टापछि भग्नावशेषबाट एक नवजात शिशुलाई जीवितै उद्धार गरिएको छ । शिशु भत्किएको पाँचतले आवासीय भवनको भग्नावशेषमा फसेका थिए ।

उनीसँगै एक व्यक्ति पनि थिचिएका थिए ।सीएनएनका अनुसार उद्धार टोलीले भग्नावशेषमुनिबाट एक व्यक्तिको आवाज सुनेका थिए । ती व्यक्तिले भनेका थिए, “म यहीँ छु । म बच्चासँगै छु ।” त्यसपछि घटनास्थलमा उपस्थित उद्धार टोली र अन्य मानिसहरूले तत्काल हातैले भग्नावशेष पन्छाउन सुरु गरे।
एउटा ठूलो कन्क्रिटको स्ल्याबमुनि एक व्यक्ति र नवजात शिशु फसेका थिए । उद्धारकर्ताहरूले स्ल्याब उठाएर दुवै जनालाई बाहिर निकाले । प्रत्यक्षदर्शीका अनुसार बच्चालाई सास फेर्न गाह्रो भइरहेकाले उसको टाउको नीलो भइसकेको थियो ।
यसैबीच, कोलम्बियाको भूकम्पमा मृत्यु हुनेको संख्या २६५ पुगेको छ । राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाका अनुसार भूकम्पमा परी कम्तीमा तीन हजार ४९४ जना घाइते भएका छन् । ४९६ जना अझै बेपत्ता छन् ।

