
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि स्वागत गर्न विमानस्थल पुगेका कांग्रेस नेताहरूप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै शाहीले देउवालाई स्वागत गर्न विमानस्थल पुगेका नेताहरू भदौ २४ गतेको घटनाका बेला कहाँ थिए भन्दै प्रश्न गरेका हुन् । ‘आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एयरपोर्टमा स्वागत गर्न पुग्नेहरू, भदौ २४ गते चाहिँ कहाँ थिए होलान् ? कता गएका थिए होलान् ? कसैलाई थाहा छ भने कमेन्टमा लेखिदिनुहोस्,’ शाहीले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्यपचारपछि बिहीबार स्वदेश फर्किएका छन् । देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । देउवालाई स्वागत गर्न कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधिलगायत विमानस्थल पुगेका हुन् ।

