हेटौंडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड

cp new add
Nisharg hospital

काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन सरकारले जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेको छ ।

Nast Ad

नेपालमा कपडा उद्योगका लागि आवश्यक कच्चापदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चापदार्थ आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले व्यवसायीलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेको हो । उद्योगमन्त्री गौरीकुमारी यादवले कृषिमन्त्री गीता चौधरीसँग भेट गरी नेपालमा कपास खेती विस्तार गर्ने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

छलफलमा कृषिमन्त्री चौधरीले दाङ, बाँके, बर्दिया लगायत जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताएकी थिइन् । नेपालमा कपास खेतीको सम्भावना रहे पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा उद्योगहरूले आवश्यक कच्चापदार्थका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था छ ।

सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई पनि जोड दिन सके आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ । यस्तै लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनस् सञ्चालन गर्ने प्रक्रिया समेत अगाडि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

कारखाना समेत सञ्चालन गर्ने सम्बन्धमा सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । कपास खेती विस्तार मार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...