
काठमाडौं । चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो यो घटना भएको हो ।

दिउँसो १२:२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए ।उनीहरूलाई तत्काल उद्धार गरी नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

